भोज मनोरञ्जन
भोज मनोरञ्जन
-दुर्गाप्रसाद गौतम
दुइ हज्जार पैंतालिस पौषमास थियो ।
भद्रकाली मा.वि.वाट वन–भोज गयो ।।
शिक्षकको समुदाय मात्र थियो यसमा ।
रमाइलो वनभोजको ग्रुप हिड्यो वनमा ।।१।।
दीनानाथ, प्रिय, अनि जय वहादुर कार्की ।
चन्द्रकला, टेक, अरु बालेश्वर र साथी ।।
मुकुन्द र काली प्रसाद, रामचन्द्र, अनि ।
मेघराज, चूडामणि, दुर्गा गौतम पनि ।।२।।
केशव र रेवलाल, राम संग्रौलाको ।
हरिश्चन्द्र, देवी अनि रामावतारको ।।
लोकनाथ, कविन्द्र र अरु टेक्सी वाला ।
सबै मिली खसी च्यापी हिड्यौं साला खाला ।।३।।
बाटै भरी धुलै धुलो टेक्सी गुड्दा खेरी ।
सबै जना नचिनिने भै सके छौं फेरी ।।
पाउडर कै काम गन्यो धुलो सोरे राम्रो ।
आफैं हेरी हाँसी दिन्थ्यौं पारा यैहो हाम्रो ।।४।।
नेपालीको वन भोज कती राम्रो हुन्छ ।
यात्राले नै आनन्दको स्वाद वर्षा हुन्छ ।।
गाडी गुड्यो पाडाजुगी देखि पूर्व तिर ।
माइ नदीको किनारामा अड्यो छेवै निर ।।५।।
थिए त्यहाँ अरु पनि वन भोजका ग्रुप ।
जताततै मानिसको थियो ग्रुपै ग्रुप ।।
हामी पनि भेला भई भयौं अर्को ग्रुप ।
चुला चौका गर्न थाले चूडाजीले झट्ट ।।६।।
पानी घाट खोज्न गए रामावतार पैले ।
जे.वी. पनि दौडि हाले पानी लिन तैले ।।
डि.पी. वाट आगो वल्यो, झिंजा ल्याउने मेघ ।
दाउरा किन्न दौडिगए देवी भाइ एक ।।७।।
पानी तात्यो भाँडा भरी खसी काट्ने काम ।
चूडा, वाल, खसी तान टंक जी नै हाँन ।।
पिल्स्याउने कामतिर सबै झुत्ती खेल्ने ।
कोही फाटरो खिच्ने तिर पालै पालो गर्ने ।। ८।।
कोही थिए कवितामा कोही थिए गितमा ।
कोही थिए साग सब्जी केलाउने हितमा ।।
कोपी सब्जी तयार भयो गुरु आमा वाट ।
खाजा भुजा चल्न थाल्यो सबैजना वाट ।।९।।
नुहाउने भनी कन केशव बाल कुदे ।
चूड़ा डि.पी. प्र.अ अनि अरु पनि दौडे ।।
कोही फोटो खिची रेछन् किनारको सिनमा ।
वारी पारी दौडी रे छैन् कोही छिनै छिनमा ।।१०।।
मासु पाक्यो भात पाक्यो यता–चुला तिर ।
मासु भान्से गुरुमा र डि. पी. भात तिर ।।
फूर्ति साथ भान्से हरु यता उता गर्छन् ।
मासु चाख्न साथी हरु अघि अघि सर्छन् ।।११।।
खाना पीना भए पछि नाच्न थाले हरि ।
क्यासेटको गीत घन्क्यो नविर्सिने गरी ।।
नृत्य रङ्ग, सबैलाई चल्न गयो क्यार ।
एक एक गरि कन लाउन थाले सार ।।१२।।
रामचन्द्र, हरिश्चन्द्र, दीनानाथ अनि ।
टंक, राम अवतार, जय, दुर्गा, पनि ।।
डि.पी.जी. र रामचन्द्र गीत गाउन थाले ।
टंक मादल बोकी बोकी ताल ठोक्न थाले ।।१३।।
नाटकका पात्र सरि अभिनय जस्तो ।
नाटकमै मग्न मस्ति सबै भए जस्तो ।।
ताली ठोक्ने कोही थाल बोकी बोकी नाच्ने ।
खाँदै नाच्ने कोही, कोही फोटो खिच्तै हास्ने ।।१४।।
भाँडा माज्ने केटा ल्याए प्रिय जीले यता ।
मासु भात खोजी हिड्थे केटा यता उता ।।
कवि, काली रेवलाल निरामीष थिए ।
वेग्लै चुलो गरी कन तस्मै तोडी दिए ।।१५।।
सबै जना टन्न खाई अजीर्ण नै भए ।
मासु छ कि अझै भन्दै वि.जे. अघि गए ।।
भाँडा माज्ने केटा आई भाँडा लिई गए ।
भनी दिए प्रिय जीले, वी.जे.झिरी गए ।।१६।।
कोही घुम्थे वाँधमाथि कोही थिए पाखा ।
कोही थिए पानी तिर कोही यता उता ।।
सबै भेला भइकन टेक्सी माथि चढ्यौं ।
मादल र सुसेलीमा गीत गाउन थाल्यौ ।।१७।।
गाठी गुड्यो जिन्दगीको भारीलाई बोकी ।
दाँया वायाँ सबै वाटो मेरै मात्र हो की ।।
गाडी माथि नाच्ने, गाउने रन्को चली रे छ ।
टेक्सी पनि नाचे जस्तै मर्की मर्की कुद्छ ।।१८।।
कैले आयो झिल्झिले र केर्खा, पाडाजुगी ।
दमकै पो देखा प¥यो चियाई हेर्दा हुँदी ।।
वेलुकी पो भै सकेछ वल्ल थाहा भयो ।
अब फेरी घुले यात्रा अर्को सुरु भयो ।।१९।।
गौरादह डिपु देखि साथी घट्न थाले ।
स्कूल चौन देखि गाडी झन्नै खाली पारे ।।
सवा सात बजे तिर चप्रामारी आयौ ।
आफ्ना आफ्ना घर संझी अनि वाटो लाग्यौं ।।२०।।
नृत्य, गीत, कविता, र मनोरञ्जनको ।
अझै पनि झल झली सम्झनाको राँको ।।
वली रे छ हृदयमा प्रकाशको वत्ती ।
यती मीठो वनभोज भुल्ने छैन कत्ती ।।२१।।
जीवन अमूल्य यात्रा हो, यात्री हो हामी धर्तिका ।।
यात्रामै जिन्दगी हिड्छ, टुङ्गिन्छ जीवनान्तमा ।। २२।।
यै यात्रामा हिडे पूर्खा, यात्रामै देव दानव ।।
यात्रा मै छ अझै घर्ती, यात्रामै नभ का ग्रह ।।२३।।
(इति वन भोज महात्म्य समाप्त)
भोज सदस्यः– डि.पी. भ्रमर
२०४५्/०९/०२